अब पार्टीमा ठूलाे उथलपुथल हुन्छ : जनार्दन शर्मा

होमल्याण्ड खबर

२०८० श्रावण २८ गते, आईतवार १२:५२ मा प्रकाशित

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का  उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्माले पार्टी सङ्गठनमा ठूलाे उथलपुथल हुने बताएका छन्।

माओवादी केन्द्रमा मत खसालेर नेतृत्व चुन्ने अभ्यास प्रारम्भ हुने र त्यसले पार्टी सङ्गठनमा उथलपुथल ल्याउने उनले बताए।

शनिबार पार्टीको सहायक सङ्गठन वाइसियल नेपालको मध्यपुर थिमि नगर सम्मेलनलाई थिमि ब्याङ्क्वेटमा सम्बोधन गर्दै नेता शर्माले भने, ” मूल्याङ्कन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्याङ्कन गरेर नेता चुन्ने विधि बसालिन्छ ।” पार्टीमा माथिका नेतालाई मन नपरे राजनीति नै ध्वस्त बनाइदिन सक्ने अवस्था अन्त्य गर्न र नेतृत्वको वरिपरि घुमेर नेता बन्ने असक्षमहरुबाट पार्टीलाई बचाउन पनि निर्वाचन उत्तम विकल्प भएको उनको भनाइ छ ।

कार्यकारी पदमा मतदानबाट चुनिएर नेता हुने बताउँदै सबैलाई चुनावमा उठ्न अवसर प्राप्त हुने र अध्याधिक मत ल्याउने क्रमागत उम्मेदवारहरू निर्वाचित हुने नेता शर्माले जानकारी गराएका छन् । त्यसपछिका केही निश्चित उम्मेदवार क्रमशः वैकल्पिक नेता बन्ने समेत उनले बताएका छन् ।

तत्कालीन जनयुद्धका कमान्डर समेत रहेका पूर्व मन्त्री शर्माले जनयुद्धबाट प्राप्त उपलब्धिलाई हल्कारुपले हेर्न नहुनेमा जोड दिए। उनले व्यवस्था बदल्न हज्जारौ शहिदले बगाएको रगत भुल्न नहुने स्पष्ट पारे। नयाँ पुस्ताले वर्तमान स्वतन्त्रता र अधिकारका लागि माओवादी केन्द्रलाई स्यावासी दिनुपर्ने उनले दाबी गरेका छन् ।

वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको र समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको भन्दै पूर्वमन्त्री समेत रहेका पार्टीका प्रदेश इन्चार्ज शर्माले अब फेरि जनताले व्यवस्था परिवर्तनको लागि राज्यसँग लड्नुपर्ने अवस्था नरहेको जानकारी गराए । ”अब अवैधानिक बाटो हिँड्नुपर्दैन, वैधानिक बाटोबाटै समाजवादमा पुग्न संविधानले दिशानिर्देश गरेको छ ।” उनले भने ।