५ मंसिर २०८१, बुधबार
मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्टि जनाएका छन्। उनले शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नुको अर्थ नभएको बताएका हुन्।
बैठक नै बस्न नसकेको बताएका लामिछानेले पत्रकारहरुसँग भने, ‘हामीलाई अहिले के लाग्यो भने, शीर्ष नेताहरुको छलफलको साक्षी बस्नु भनेको बदनाम हुनु मात्रै हो।’
उनले बैठकमा शीर्ष नेताको साक्षी बस्नुको खासै अर्थ र तुक पनि नदेखिएकाले बुधबारको बैठकमा सहभागिताबारे आफूहरुले छलफल गर्ने बताए। सो बैठकमा उपस्थित नहुन सक्ने उनको आशय थियो। ‘टुंग्याउने जिम्मा उहाँहरुलाई नै दिन्छौं’, उनले भने।
मंगलबारको बैठक टुंगोमा पुग्न नसकेकाले भोलि पुनः दिउँसो ३ बजे बैठक बस्ने बताइएको छ।
उनले सामान्य कुरामा पनि शीर्ष नेताहरुले लम्बेतान समय लगाउने गरेको टिप्पणी गरे। उनले भने, ‘सामान्य कुरालाई पनि लम्बेतान गर्ने जुन उहाँहरुको परम्परा छ। यो परम्पराबाट मलाई चाहिँ कताकता लागिरहेको छ भने यसको साक्षी बस्नुको कुनै अर्थ पनि छैन।’
सोमबारको बैठकबाट उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति गरेका दलहरुले त्यसको कार्यक्षेत्र टुंग्याउन कांग्रेसका रमेश लेखक, एमालेका सुवास नेम्वाङ र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित कार्यदल गठन गरेका थिए। त्यसले लगभग आफ्नो काम टुंगो लगाएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए।
‘उहाँहरुलाई उच्चस्तरीय छानबिन समितिको कार्यविधिका सम्बन्धमा, त्यसको टीओआर कस्तो बनाउने भनेर मस्यौदा तयार गर्न जिम्मेवारी दिइएको थियो’, उनले भने, ‘त्यो काम करिबकरिब पूरा गर्नुभएको छ। शीर्ष नेताहरुको छलफलमा त्यसलाई राखेर आजै टुंग्याउने कुरा थियो। तर आज ४ बजे प्रधानन्यायाधीशको शपथ ग्रहण भएकाले प्रधानमन्त्री र सभामुख जानुपर्ने भएकाले आज समय अपुग हुन गयो। अर्कोतिर एमाले अध्यक्ष केपी ओली पनि बिरामी हुनुभयो।’
अब अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी आजको बैठक सकिएको उनले बताए।
साउन २ गते विमानस्थलको सुरक्षा प्रणाली पार गरेर सिनामंगल पुर्याइएको सुन बरामद भएपछि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको छ। सीआईबीले नै अनुसन्धान गर्ने भन्दै एमालेको मागमा असहमति व्यक्त गरिरहेका कांग्रेस तथा माओवादी केन्द्र सोमबार भने उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएका थिए। मंगलबार सदनको अवरोध हट्ने आकलन गरिएको थियो। तर बैठक भने स्थगित भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ ग्रहणको समय जुध्ने भएकाले मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। शपथ ग्रहणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरे पनि जानुपर्ने भएकाले सदन नचल्ने एमालेका प्रमुख सचेतक गिरीले बताए।