९ मंसिर २०८१, आईतवार
पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले हुलास काठमाडौं रोयल्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको टिम विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनाउन सक्यो । विराटनगरले दिएको १५० रनको लक्ष्यसहित ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
उत्कृष्ट सुरुवात गरेको विराटनगरका लागि मोहमद जायदले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै सुनील धमलाले ३० रन जोडे । जायद र सुनिलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै राजेश पुलामी मगरले ३० रन जोडे । काठमाडौका लागि शुसन भारी, बसन्त रेग्मी र गौरव तोमारले २/२ विकेट लिए ।
यस खेल विराटनगर र काठमाडौंका लागि निकै महत्वपूर्ण खेल रहेको छ । प्रतियोगितामा सन्दीपको टिम विराटनगरले अघिल्ला दुई खेल गुमाईसकेको छ । विराटनगर आज विराटनगर काठमाडौंलाई हराएर पहिलो जितको खोजीमा हुनेछ ।
विराटनगर पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजसंग पराजित भएको थियो । विराटनगरले २ खेल खेल्दा अंक जोड्न सकेको छैन । विराटनगर पुछारबाट दोस्रो स्थानमा छ । त्यसैले काठमाडौंविरुद्ध जित निकाल्न नसके विराटनगरलाई प्रतियोगिताको एलिमिनेटरमा पुग्न निकै कठिन हुनेछ ।
ज्ञानेन्द्रको काठमाडौंमाथि जित निकाल्न विराटनगरलाई निकै कठिन हुनेछ । किनकी काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई हराएको सुखद सुरुवात गरेको काठमाडौं लगातार जितको खोजीमा छ । काठमाडौं १ खेलबाट २ अंक जोडेर लिगको तेस्रो स्थानमा छ ।