५ मंसिर २०८१, बुधबार
संघीय संसद अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।
विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
साथै, बाधा अडकाउ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।