सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

होमल्याण्ड खबर

२०८० भाद्र १० गते, आईतवार १२:४४ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको पेसी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश पण्डितको इजलासले सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्नेछ।

क्रमसंख्याअनुसार सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश पण्डितको इजलासमा पाँचौं नम्बरमा छ। यसअघि पटक–पटक पेसी परे पनि यो मुद्दाको अन्तिम सुनुवाइ हुन सकेको थिएन।

यसअघि सन्दीपको मुद्दामा गत बिहीबार (साउन ३२ गते) सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो। न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो। १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।