प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुखः केही दिन अस्पतालमै राखेर उपचार गरिने

होमल्याण्ड खबर

२०७५ कार्तिक १३ गते, मंगलवार १०:५९ मा प्रकाशित

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको छ । आज बिहानसम्ममा उहाँको खोकीमा कमी आएको र अवस्था खासै चिन्ताजनक नरहेको उपचारमा संलग्न चिकित्सक डा. सन्तकुकार दासले जानकारी दिएका छन् ।

चिकसत्सकका अनुसार दशैँको बेला बढी धपेडीका कारण प्रम ओलीको स्वास्थ्य समस्या बल्झिएको हो । मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले अन्य मानिसको तुलनामा बढी ‘रेस्ट’ गर्नुपर्ने भए पनि बेलैमा ध्यान नदिँदा यो अवस्था आएको चिकित्सकको भनाइ छ ।

स्वास्थ्यका हिसाबले सधैं चिकित्सकीय सेवा लिइरहनु पर्ने अवस्थामा रहनुभएका ६७ वर्षे प्रधानमन्त्री ओलीलाई दसैंको टीका लगाइदिने बाध्यताले झनै समस्यामा पारिदिएको हो । दसैंको टीका लगाउने बेला बढी धपेडी तथा भीडभाडसँग सम्पर्क भएकै कारण सुरु भएको रुघाखोकीले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएको चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई कम्तिमा तीन दिन अस्पतालमै राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीमा संक्रमण र शरीरमा ‘सुगर’को मात्रा बढेका कारण प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल अन्तरगत मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहानै भर्ना गरिएको थियो ।

प्रधानमन्त्री अस्पताल भर्ना भएपछि सोमबार दिनभरि नै उहाँको स्वास्थ्य अवस्था बुझ्न आउने नेता तथा सर्वसाधारणको अस्पतालमा भीड लागेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरु र नेकपाका नेताहरुले शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
सोमबार साँझ ६ बजे अस्पतालले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थावारे जानकारी दिएको थियो । सो जानकारीअनुसार परीक्षणका रिर्पोट सुधारोन्मुख र स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको थियो ।