सर्वोच्चको न्यायाधीशमा शर्माको नाम सर्वसम्मतिले अनुमोदन

होमल्याण्ड खबर

२०८० भाद्र २९ गते, शुक्रबार १५:४५ मा प्रकाशित

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको शुक्रबारको बैठकले शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । नाम अनुमोदन हुनु अघि समितिमा आफ्ना

भावी योजना प्रस्तुत गर्दै शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताए। शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने  पनि बताएका थिए ।

अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्ने समेत बताए ।

उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा रहेका छन् । उनलाई न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।