शिख नेताको हत्यामा भारत संलग्न भएको क्यानडाको आरोप

होमल्याण्ड खबर

२०८० आश्विन २ गते, मंगलवार १०:५९ मा प्रकाशित

क्यानडाले एकजना शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप लगाएको छ । त्यही आरोपमा क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको बताएका थिए । उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी–२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि प्रधानमन्त्री ट्रुडोले दिएका थिए ।

क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका बरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी छन् । उनले भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनिन् । यद्यपि देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको निकटस्थ स्रोतले बताएको छ ।

सीबीसीले भने देश निकाला गरिएका भारतीय कूटनीतिज्ञ पवन कुमार राय रहेको दाबी गरेको छ ।

भारतीय विदेश मन्त्रालयले क्यानडाको आरोपको खण्डन गर्दै लेखेको छ, ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’

क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने क्यानडाभित्र कुनै पनि नागरिकको हत्या गराउन विदेशी सरकार संलग्न हुनु देशको सम्प्रभूताको उल्लंघन भएको टिप्पणी गरेका छन् । उनले यो हत्याबारे अनुसन्धानका लागि भारतलाई दबाव दिने पनि बताएका छन् ।