सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, कांग्रेस कार्यकर्ताको मृत्यु

होमल्याण्ड खबर

२०७५ कार्तिक १३ गते, मंगलवार १४:१८ मा प्रकाशित

सर्लाहीको रामनगर गाउँपालिका–४ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडपमा एकजनाको ज्यान गएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार झडपका क्रममा नेपाली कांग्रेसका कार्यकर्ता राम विलास महतोको मृत्यु भएको हो । सुवेदीका अनुसार महतोको गोली लागेर ज्यान गएको हो । घटनामा अन्य केही घाइते समेत भएका छन् ।

‘‘घटनाको सबै विवरण आउन बाँकी छ । अनुसन्धान हुँदैछ । पक्राउ परेको–नपरेको जानकारी छैन,’’ एसएसपी सुवेदीले भने । महतोमाथि नेकपाकै कार्यकर्ताले गोली चलाएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि सोमबार नेकपाका कार्यकर्ताहरुले कांग्रेसका वडाध्यक्ष रामनरेश महतोमाथि कुटपिट गरेका थिए । कुटपिट भएपछि सोमबारबाटै दुवै पक्षबीच झडप भएको थियो ।