निज्जर हत्यामा भारतको संग्लग्नता पुष्टि गर्न क्यानडालाई विदेशमन्त्री जयशङ्करको चुनौती

होमल्याण्ड खबर

२०८० आश्विन ११ गते, बिहीबार ११:१७ मा प्रकाशित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लगाएकाे खालिस्तानी पृथकतावादी हरदीप सिंह निज्जरको हत्यामा भारतीय संलग्नताको आरोपबारे विदेशमन्त्री एस जयशंकरले पहिलो पटक टिप्पणी गरेका छन्।

अमेरिकाकाे न्युयोर्कमा ‘काउन्सिल अन फरेन रिलेसनस”मा अन्तर्क्रियाका क्रममा क्यानाडाको आरोपमा सोधिएको प्रश्नको जवाफमा जयशंकरले निज्जर हत्याको सूचनामा छलफल गर्न भारत खुला रहेको बताएका छन्।

हालै क्यानडाले निज्जर हत्यामा भारतीको हात रहेको ‘विश्वसनीय जानकारी’ आफूसँग रहेको र त्यसको अनुसन्धान गरिरहेको बताएपछि ओटावा र नयाँ दिल्लीबीचको सम्बन्ध नराम्रमरी चिसिएको  छ । आपसी सम्बन्धमा यति तिक्ततापूर्ण बनेको छ कि दुई देशले कूटनीतिक कर्मचारीलाई निष्काशन गर्नेदेखि भिसा नदिनेसम्मका निर्णय गरेका छन् ।
भारतले क्यानाडाको विश्वसनीय सूचनालाई उक्त दाबीलाई आधारहीन भन्दै खारेज गरेको छ । भारत सरकारले क्यानडालाई हत्याको बारेमा कुनै पनि सान्दर्भिक आरोपमा  छानबिन गर्न खुला रहेको बताएको जानकारी दिँदै विदेशमन्त्री जयशङ्करले  त्यसमा दिल्लीको कुनै भूमिका नभएको दोहोर्याए । उनले निज्जर हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानाडालाई चुनौती पनि दिए ।

निज्जरको गत जुन महिनामा ब्रिटिस कोलम्बियाको एउटा मन्दिर बाहिर गोली हानी हत्या भएको थियो । उनलाई सन् २०२० मा भारतले आतङ्कवादी घोषणा गरेको थियो । यद्यपि उनका समर्थकहरूले यसलाई अस्वीकार गर्दै आएका छन् ।

पश्चिमा देशहरूमा पृथकतावादीहरूको खालिस्तान वा छुट्टै शिख मातृभूमिको माग गर्दै विरोधप्रदर्शन गर्नेलगायत भारत विरोधी गतिविधिप्रति भारत सरकारले आपत्ति जनाउँदै आएको छ ।