हिमालको काखमा सुविधा सम्पन्न रिसोर्ट

होमल्याण्ड खबर

२०७५ कार्तिक १४ गते, बुधबार १४:०१ मा प्रकाशित

म्याग्दीको आकर्षक पर्यटकीय स्थल टोड्केमा पर्यटकलाई लक्षित गर्दै सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन लागेको टोड्केको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि टोड्के हिल रिसोर्ट प्रा.लि ले तीन करोड रुपियाँ लागतमा रिसोर्ट बनाउन लागेको हो ।

कम्पनी मोडेलमा निर्माण हुन लागेको रिसोर्टमा नौजना संस्थापक सदस्य छन् । रिसोर्टमा धेरैभन्दा धेरै स्थानीयलाई सहभागी बनाउने उद्देश्य रहेको प्रा.लि.का अध्यक्ष मीनबहादुर पाइजाले बताए । हामीले सामुदायिक हिसाबले रिसोर्ट सञ्चालन गर्ने सोच बनाएका छौँ प्रा.लि.का अध्यक्ष पाइजाले भने “न्यूनतम एकदेखि पाँच लाख रुपियाँसम्म स्थानीयले सेयरमा लगानी गर्न सक्छन् । ”

सदरमुकाम बेनीदेखि डेढ घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्के हो । यहाँबाट धौलागिरि हिमशृङ्खला, अन्नपूर्ण, नीलगिरी, माछापुच्छ«ेलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । साथै गुराँस फुल्ने मौसममा यहाँको वनजङ्गलमा फुल्ने राताम्मे गुराँसले पर्यटक लोभ्याउँछ ।

प्रा.लि.ले रिसोर्ट निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सञ्चालन मोहनबहादुर क्षेत्रीले बताए । मङ्गला, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलमा टोड्के पर्दछ । मालिका मन्दिर, धौलागिरि सेन्चुरी, गुरिल्ला पदमार्गमा आवतजावत गर्ने पर्यटकलाई लक्षित गरी रिसोर्ट सञ्चालन गर्न लागिएको प्रा.लि.का अर्का सञ्चालक भीम सेरचनले बताए ।

यहाँ आउने पर्यटकलाई रिसोर्टले नै उत्पादन गरेको अर्गा्निक खानाको व्यवस्था गरिने उनले बताए । आफ्नो ठाउँको विकासका लागि केही गरौँ भन्ने उद्देश्यका साथ रिसोर्टमा लगानी गरेको उनले बताए ।
टोड्केमा सुविधा सम्पन्न रिसोर्ट निर्माण भएपछि यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको टोड्के क्षेत्र विकास कोषका अध्यक्ष बाबुराम आचार्यले बताए । पर्यटन प्रवद्र्धनका लागि सडक, खानेपानी, सुरक्षा व्यवस्थालगायत भौतिक पूर्वाधारको विकासका लागि सम्बन्धित निकायले सहयोग गरेमा यहाँको पर्यटन विकासका लागि धेरै समय कुर्नुपर्ने थिएन उनले भने ।