९ मंसिर २०८१, आईतवार
पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनाउन सक्यो । खराब सुरुवात गरेको विराटनगरका लागि मोहमद जायद आलमले अर्धशतकीय इनिङस खेले ।
सुन्य रनमा पहिलो विकेट गुमाएको विराटनगरका लागि आलमले ७२ रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ४१ रन जोडे । आलम र प्रदीपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका ललित सिंह भण्डारीले २ विकेट लिए ।
बुटवलविरुद्ध मैदान उत्रदा विराटनगर पहिलो जितको खोजीमा रहेका छन् । पीपीएलमा विराटनगर लगातार तेस्रो खेल हार्ने पहिलो टोली हो । विराटनगर पहिलो खेलमा पोखरा पल्टन, दोस्रोमा एक्स्पर्ट धनगढी ब्लुज र तेस्रो खेलमा हुलास काठमाडौं रोयल्ससंग पराजित भएको थियो ।
अघिल्ला तीन खेल गुमाईसकेको विराटनगरको प्ले अफ यात्रा गणितीय सम्भावना मात्र छ । विराटनगरले ३ खेलबाट अंक जोड्न सकेको छैन । तर, प्ले अफ पुग्ने विराटनगरको झिनो आशा छ । विराटनगर बुटवलविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने आशालाई कायम राख्न चाहन्छ ।
तर, जारी प्रतियोगितामा निकै बलियो देखिएको बुटवलविरुद्ध जित निकाल्न विराटनगरलाई फलामको च्युरा चपाउनु सरह हुनेछ । किनकी जारी प्रतियोगितामै बुटवल हुलास काठमाडौंपछि अपराजित रहने अर्को टोली हो ।
बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । र, बुटवल शीर्ष स्थानमा छ । बुटवलले पहिलो खेलमा बलियो टिम चितवन राइनोज र दोस्रो खेलमा पोखरा पल्टनलाई हराईसकेको छ ।
यस्तोमा बुटवल विराटनगरविरुद्ध जित निकाल्दै तेस्रो जितको खोजीमा हुनेछ ।