९ मंसिर २०८१, आईतवार
पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा चितवन राइनोजले हुलास काठमाडौं रोयल्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको पारस खड्काको कप्तानीमा रहेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४९ रन बनाउन सक्यो । चितवनले दिएको १४० रनको लक्ष्यसहित ज्ञानेन्द्र मल्लको काठमाडौंले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
चितवनका लागि ओपनर हरि शंकर साहले ६० रनको रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । हरीको यो लगातार दोस्रो अर्धशतक हो । हरीले बुधबार धनगढीविरुद्ध अर्धशतक बनाएका थिए ।
यस्तै चितवनका स्मित पटेलले ३१ रन जोड्दा अनिल कुमार साहले २७ रन बनाए । कप्तान पारस १४ रनमा आउट हुँदा सन्नी पटेलले १३ रन जोडे ।
काठमाडौंका बसन्त रेग्मीले २ विकेट लिदा नन्दन यादव र पवन सर्राफले १/१ विकेट लिए ।
आज काठमाडौं विरुद्धको खेल चितवनलाई महत्वपूर्ण रहेको छ । ३ खेल खेलिसकेको चितवनलाई प्ले अफमा स्थान बनाउन काठमाडौंलाई हराउनै पर्नेछ । किनकी चितवनले ३ खेलमा मात्र १ जित निकालेर २ अंक जोडेको छ । चितवन लिगको चौथो स्थानमा छ ।
यता, काठमाडौं लगातार तेस्रो जितको खोजीमा रहेको छ । काठमाडौं अघिल्ला २ खेलमा जित हात पार्दै ४ अंक जोडेर तेस्रो स्थान रहेको छ । चितवनलाई हराउन सके काठमाडौंको प्ले अफ यात्रा सहज बन्नेछ ।