कृषि उपजलाई सीधा बजार पहुँच दिन कतारसँग महासंघको माग

होमल्याण्ड खबर

२०७५ कार्तिक १५ गते, बिहीबार १२:२८ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा नेपाल र कतारबीच सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले अहिले धेर थोर निर्यात हुँदै आइरहेको कृषि उपजलाई अझ बढवा दिन नेपाल र कतार सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् ।

राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीसमक्ष कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्यसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी राणाले समझदारीमा उल्लेख भएको माछा, पशुपालन र कृषिमा सहकार्य गर्न सरकारले पहल गर्नुपर्ने बताइन् । नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिनुपर्ने महासंघको भनाइ छ ।

अध्यक्ष राणाले नेपालले श्रमिक पठाउने देशका रूपमा बनेको आफ्नो परिचय बदल्नुपर्ने बताइन् । कतारको अहिले नेपालमा म्यानपावरको व्यवसाय मात्र छ जसलाई हामीले फेर्न खोजिराखेका छौं । “नेपालमा अहिले सरकार समेत स्थिर रहेको र लक्ष्य आर्थिक समृद्धि भएकैले अन्य क्षेत्रमा लगानी बढाउन आग्रह गरिराखेका छौं,” अध्यक्ष राणाले भनिन् ।