२३ बैशाख २०८३, बुधबार
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका छन्। विगत ७ वर्षदेखि बढुवा रोकिएको जनाउँदै आन्दोलनमा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
चिकित्सकहरूको मागप्रति मन्त्री बस्नेत अनुदार देखिएपछि हिजो राजीनामा दिएको चिकित्सकहरुले बताएका छन् । प्रतिष्ठानका पदाधिकारीबाट आफूहरूको मागप्रति सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सक मन्त्री बस्नेतलाई जानकारी गराउन काठमाडौंमा आएका थिए ।


१७७ मध्ये १४० जनाले राजीनामा दिएका हुन्। विगत ७ वर्षदेखि बढुवा प्रक्रिया नभएको, प्रतिष्ठानमा दरबन्दी रिक्त रहे पनि सुनुवाइ नभएको र विगत २ वर्षदेखि ५० भन्दा बढी दक्ष चिकित्सकले प्रतिष्ठान छाड्दै हिँडेकाले राजीनामा दिएको चिकित्सकहरूले बताएका छन् ।
उनीहरूले विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सकको अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको बारेमा मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएका छन् ।