‘रिगल’को आममाफीविरुद्धको रिट श्रेष्ठ, भट्टराई र रेग्मीको पूर्ण इजलासमा

होमल्याण्ड खबर

२०८० आश्विन २५ गते, बिहीबार ११:०५ मा प्रकाशित

 व्यक्ति हत्याका अभियुक्त गुण्डा नाइके ‘रिगल’ भनिने योगराज ढकालको आममाफी विरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ।

रिट सुनुवाइका लागि बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मी रहेको पूर्ण इजलासमा पेशी तोकिएको हाे।

रिगलकाे समूहले खुँडा प्रहार गरी मारेका नेपालगञ्जका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा (मानन्धर)ले दायर गरेको रिटमाथि सर्वोच्चले बिहीबार दोस्रो सुनुवाइ गर्न लागेको हो।

यसअघि गत बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले रिगललाई माफी दिने निर्णयमा गम्भीर चासो देखाएको थियो।

असोज १८ गते, सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासमा भएको सुनुवाइमा कानुन व्यवसायीहरुले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिनसक्ने भन्ने प्रसंग उल्लेख गर्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि प्रश्न उठाएका थिए।

गत बिहीबार भएको सुनुवाइमा सर्वोच्चले कैद मिनाहाको विषयसलाई गम्भीर रुपमा लिदै ८ बुदाँमा समग्र आदेश जारी गरेको थियो।

सर्वोच्चले अदालतले सरकारसँग माफीको बारेमा निर्णय माग गर्नुका साथै राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो। सर्वोच्चले मुद्दालाई गम्भीरतापूर्वक लिँदै महान्यायाधिवक्ता दिनमणि पोखरेल आफैं उपस्थित भएर बहस गर्न भनेको थियो।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको फैसला नभएसम्म रिट निवेदक भारती शेर्पा मानन्धरको परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको थियो।

रिगललाई दिइएको कैद माफीको विषय जटिल भएको उल्लेख गर्दै न्यायाधीश शर्माको इजलासले त्यसको कानुनी निरुपणलाई महत्त्वको विषयमा रुपमा उल्लेख गरेको छ। जसकारण उक्त रिटको सुनुवाइ अब संयुक्त इजलासमा नभइ पूर्ण (तीन वा तीनभन्दा बढी न्यायाधीश सम्मेलित) इजलासमा सुनुवाइ हुन लागेकाे हाे।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा आबद्ध गुण्डा नाइके ‘रिगल’ले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहाको सुविधा पाएका हुन्। संविधान दिवसको दिन कैद मिनाह भए पछि उनी जेलमुक्त भएका थिए।