२३ बैशाख २०८३, बुधबार
मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेको छ । शुक्रबार विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, सङ्क्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाऊ, फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर भन्दै विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरू विकास थापा, सानु लामा, रिता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, द्वन्द्व पीडित साझा चौतारीका कावा अध्यक्ष कल्याण बुढाथोकी, माओवादी पीडित संघका अध्यक्ष धर्मराज न्यौपानेसहित १६ जनालाई गिरफ्तार गरी नगर प्रहरी कार्यालय भृकुटीमण्डप कार्यालयमा राखेको छ ।


प्रदर्शनमा सहभागीहरूले हत्या हिंसा महिमामंडन गर्न पाइँदैन, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, पिडकलाई आम माफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र आपराधिकरणलाई बढवा दिने काम बन्द गर, महँगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइरु, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानबिन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरूप छानबिन किन नगरेकोरु, सुन काण्डका नाइकेलाई कारबाही खोइरु लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।