यू–१९ प्रिमियर कप : बहराइनमाथि नेपालकाे सानदार जित

होमल्याण्ड खबर

२०८० आश्विन २८ गते, आईतवार १३:०२ मा प्रकाशित

जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो। बहराइनलाई ७७ रनमा समेटेको नेपालले ११.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

मलेसियाको बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले ३३.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएकाे थियाे।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे । उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे । उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे ।

त्यसअघि ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एक चौकाको मद्दतले चार रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए । दिपक डुम्रे पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए ।

नेपालले अब समूहको तेस्रो तथा अन्तिम खेलमा साउदी अरबसँग प्रतिस्पर्धा गर्ने छ। समूहको विजेता सेमिफाइनल पुग्नेछ।