४ मंसिर २०८१, मंगलवार
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते (बुधवार) विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते दिनको ११ बजे प्रदेश सभा बैठक बस्ने सूचना जारी गरेको हो।
दशैँअघि नै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी छ । यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हाे।
मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्।
कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ। कार्कीलाई मुख्यमन्त्री बनाउन उनको दल नेपाली कांग्रेसका २९ सांसदमध्ये ८ र एमालेका ३९ जनाले हस्ताक्षर गरेका थिए ।
सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि कांग्रेसको डा. शेखर कोइराला पक्षका कार्की पार्टीका अन्य ७ सांसदसहित विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेका थिए।