‘अफलाइन’ बसेर पठाओ र इनड्राइभ चलाउने ८३ जना पक्राउ

होमल्याण्ड खबर

२०८० आश्विन २९ गते, सोमबार १३:५२ मा प्रकाशित

अफलाइन बसेर पठाओ तथा इनड्राइभरमा यात्री बाेकेकाे आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ। अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो। अनलाइन राइड सेयरिङ एपको नाममा अफलाइन बसेर ठगी गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विगतका केही आपराधिक घटनाहरुमा समेत यस्ता अफलाइन सवारीको प्रयोग भएको पाइएकाले सुरक्षाका दृष्टिकोणले समेत उनीहरुलाई पक्राउ गर्नु परेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।