४ मंसिर २०८१, मंगलवार
गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज (मंगलबार) बाट सुरू भएको छ। राजधानीको होटल सोल्टीमा सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन्।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनएले बताएको छ।
उद्घाटन समारोहपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ। वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवाला सहितको सत्रको आयोजना गरिएको एनआरएनएले जानकारी दिएको छ।
कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ।
एनआरएनएको अध्यक्ष पदका लागि ४ आकाङ्क्षीले प्रतिस्पर्धा गर्दैछन् । महाविधेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका एनआरएनए सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुई जनाकै उम्मेदवारी परेको छ ।
यसैगरी महासचिवमा बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । एनआरएनए विधानमा महासचिव पनि एक जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी दुई जना निर्वाचित हुने उपमहासचिव पदमा ५ जना, ६ जना निर्वाचित हुने सचिव पदमा १५ जना र एक जना निर्वाचित हुने महिला सचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । कोषाध्यक्ष पनि एकजना नै निर्वाचित हुने व्यवस्था छ । यसैगरी तीन जना सहकोषाध्यक्ष निर्वाचित हुनेमा ६ जनाको उम्मेदवारी परेको छ । यस्तै महिला सहकोषााध्यक्ष एक जना निर्वाचित हुनेमा दुई जनाको उम्मेदवारी परेको छ ।
संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ। समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्।