४ मंसिर २०८१, मंगलवार
राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरेका छन्। मंगलबार ११औं गैरआवासीय नेपाली विश्वसम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै पौडेलले आफूहरू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न आग्रह गरे।
‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ,’ उनले भने, ‘नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन।’
उनले नेपाललाई सुशासन. विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन गैरआवासीय नेपालहरूको रणनीतिक भूमिका र दायित्व वाञ्छनीय रहेको बताए।
राष्ट्रपति पौडेलले गैरआवासीय नेपालीप्रति नेपाल सरकारले विभिन्न नीतिगत तथा कानुनी व्यवस्थाहरूको तर्जुमा गरेको स्मरण गराए। ‘हालैको नागरिकता विधेयक त्यसमध्येको एक हो,’ उनले भने, ‘नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता दिने व्यवस्था गरेबाट तपाईंहरूलाई नेपालसँग थप नजिक ल्याउन मद्दत पुग्नेछ भन्ने मेरो विश्वास छ।’