मुस्ताङलाई ५० करोड पठाउने प्रधानमन्त्रीको घोषणा

होमल्याण्ड खबर

२०८० कार्तिक १ गते, बुधबार १२:३० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५० करोड रुपैयाँ मुस्ताङमा पठाउने घोषणा गरेका छन्। बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गर्ने रकमबाट ५० कराेड पठाउने घाेषणा गरेका हुन्।

हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको उनले बताए। आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको उनकाे भनाइ छ।

‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु,’ प्रधानमन्त्रीले भने, ‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन्।

प्रधानमन्त्री प्रचण्डले विकसित देशहरूका कारण नेपालले क्षति व्यहोर्नु परिरहेकाे समेत बताए।

जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो’ प्रधानमन्त्रीले भने, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ। विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ।’

उनले थपे ‘ मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो। स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन्। कोरला नाकाको विशेष रणनीतिक महत्व रहेकाले यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ।