४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकाे बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ। बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेको कांग्रेस सांसद भीम पराजुलीले जानकारी दिए। बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीसमेत सहभागी थिए।
कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत लिँदैछन्। नेकपा (एमाले)का ३९ र कांग्रेसका विद्रोही ८ जना सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए। यसबाट पार्टीको संस्थापन पक्ष रुष्ट भए पनि आज फेरि संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ।
कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जसपा बाहेकका दलले विश्वासको मत दिने सम्भावना रहेको छ। एमालेले पनि आधिकारिक रुपमै दिने निर्णय गरेको छ।