३० कार्तिक २०८१, शुक्रबार
राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य पूर्णरूपमा सुधार भएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई सम्भवतः शुक्रबार बेलुकीसम्म ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको छ । उपचारमा संलग्न डा.अरुण सायमिका अनुसार शुक्रबार बेलुकी वा शनिबार बिहानसम्ममा प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भइसक्ने छन् ।
प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान भर्ना भइ उपचाररत छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र औषधिको डोज पूरा हुने भएकाले शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान उपचारमा संलग्न चिकित्सकसँग बैठक बसेर डिस्चार्जबारे निर्णयमा पुग्ने जानकारी दिए ।
‘अहिले उहाँ पूर्ण रुपमा स्वस्थ भइसकेका छन्’, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, “पुनः सङ्क्रमण हुन सक्ने सम्भावनाले अस्पतालमा रहुन्जेल अन्य मानिसलाई भेटघाट गर्न भने कडाइ गरिएको छ ।”
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य अवस्थामा आइसकेको जानकारी दिँदै शुक्रबार डिस्चार्ज हुने सम्भावना रहेको बताएकमा छन् ।
प्रधानमन्त्री ओलीको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सायमिको संयोजकत्वमा प्रा.डा. दिव्या सिंह शाह र डा शन्तकुमार दास छन् ।