४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेसका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गा जिल्ला कारागारका कैदी बन्दीलाई दसैँमा खसी उपहार दिएका छन्। पहाडी क्षेत्रका कैदी बन्दीलाई दसैँको बेला कसैले नहेर्ने भएकोले उनीहरूलाई दसैँ पर्व खल्लो महसुस नहोस् भन्ने उद्देश्यले खसी उपहार दिएको उनले बताए ।
महिला कैदी बन्दीले जेल साह्रै साँघुरो भएको गुनासो गरेपछि महिला कैदी बन्दीका लागि जेल भवन बिस्तार गर्नका लागि आफूले पहल गर्ने सांसद खतिवडाले बताएका छन्। जिल्ला कारागार भ्रमणका क्रममा २५ जना कैदी अट्ने जेलमा ८१ जनासम्म कैदी राखिएकोले जेल भवन विस्तार गर्नुपर्ने देखेकोले त्यसको विस्तारका लागि पहल गर्ने उनले बताए ।
उनले भने–‘महिला कैदी बन्दीका लागि पनि असाध्यै सानो ठाउँ, बिजोग रहेछ, मेरो तर्फबाट ४० किलो जतिको एउटा खसी दिएँ । पहाडी क्षेत्रमा रहेका जेलका कैदी बन्दीलाई दसैँको बेला कसैले सम्झँदैनन् । उनीहरूको दसैँ खल्लो नहोस् भनेर सहयोग गरेको हुँ ।’