२३ बैशाख २०८३, बुधबार
बडादशैंको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदैछ।
यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रूपमा मनाउँछन्।


शास्त्रसम्मत रूपमा दशैंघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबली दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइन लागिएको हो। यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ।
आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलीको महत्त्व रहेको धर्मशास्त्रविदहरुको भनाइ छ। राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबली विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ। यी तीन वटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ। यसै कारण आजको दिन विधिपूर्वक पशुबली दिने गरिएको हाे ।