निर्माणधीन हेटौंडा–इनरुवा प्रसारण लाइन तार तान्ने कार्य तिव्र गतिमा

होमल्याण्ड खबर

२०८० कार्तिक १३ गते, सोमबार १४:०१ मा प्रकाशित

विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभ¥याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको प्रसारण लाइनको लम्बाइ २ सय ८८ किलोमिटर छ।

प्रसारण लाइनलाई हेटौंडा–ढल्केबर १३४ किलोमिटर र ढल्केबर–इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। हेटौंडा–ढल्केबर खण्डतर्फ ४ किलोमिटर र ढल्केबर–इनरुवा खण्डतर्फ ४० गरी ४४ किलोमिटर तार तानिएको छ। तार तान्न हाल ढल्केबर–इनरुवा खण्डतर्फ केन्द्रित गरिएको छ।

पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७ सय ९२ टावर निर्माण गर्नुपर्छ। यसमध्ये ७ सय ५७ टावरको जग हालिएको छ। ७ सय ५० टावर खडा भइसकेका छन्। स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै जारी राखेको अवरोधका कारण बाँकी ३५ टावरका काम सुरु हुनै सकेको छैन। प्रसारण लाइनको मार्गधिकारमा पर्ने स्थानीयले ठाउँठाउँमा अवरोध गर्दा तार तान्ने कामसमेत प्रभावित छ। ढल्केबर–इनरुवा खण्डमा अहिले तार तान्ने काम भइरहेको छ। यसका लागि पाँच टोली परिचालन गरिएका छन्। उक्त काम आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस वर्षको हिउँदका केही महिना मोरङ–सुनसरी औद्योगिक करिडोरलगायत समग्र पूर्वको विद्युत् माग धान्नका लागि भारतबाट थप विद्युत् आयात र वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन छिट्टो पूरा गर्नु पर्ने दबाबमा नेपाल विद्युत् प्राधिकरण रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले बिहीबार सुनसरीको रामधुनी नगरपालिका क्षेत्रमा भइरहेको तार तान्ने कामको अनुगमन गरेको छ। मोरङ–सुनसरी औद्योगिक करिडोरमा आउन सक्ने सम्भावित विद्युत् आपूर्तिको समस्या अवगत गराउन र भइरहेका कामबारे जानकारी दिन टोलीमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानालाईसमेत सहभागी गराइएको थियो।

कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउन सक्ने बताए।