पोखराद्वारा धनगढीलाई १४५ रनको लक्ष्य

होमल्याण्ड खबर

२०७५ कार्तिक १६ गते, शुक्रबार ११:२७ मा प्रकाशित

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली पोखरा पल्टनले एक्स्पर्ट धनगढी ब्लुजलाई जितका लागि १४५ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको शरद भेषवाकरको पोखराले पुरै २० ओभर खेल्दै ८  विकेट गुमाएर १४४ रन बनाउन सक्यो । पोखराले दिएको १४५ रनको लक्ष्यसहित दिपेन्द्र सिंह ऐरीले धनगढीले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

खराब सुरुवात गरेको पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन जोड्दा रबि इन्दर सिंह २८ रन जोडे । यस्तै आसिफ शेखले २३, कप्तान शरद भेषवाकरले १४ तथा मोहमद नाभिदले ११ रन जोडे । पोखराका राशिद खान १५ रनमा अविजित रहदा बिक्रम भुसाल ११ रनमा अविजित रहे ।

पोखरालाई सस्तैमा रोक्न कमल सिंह ऐरीले १ मेडनसहित ४ विकेट लिए । उनले मात्र २३ रन खर्चिए ।

आज दुवै टोलीको लागि यस खेल महत्वपूर्ण रहेको छ । धनगढीको यो लिग चरणको अन्तिम खेल हो । त्यसैले प्ले अफमा स्थान बनाउन धनगढीलाई जित्नै पर्ने दबाब छ ।

४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ ।  पोखरालाई हराएर धनगढी शीर्ष तीनमा रहदै प्ले अफ पुग्न चाहन्छ । पराजित भएमा प्ले अफ सम्भावना निकै कम हुनेछ  ।

यता, घरेलु समर्थकको साथ पाएको पोखरा तेस्रो जितको खोजीमा हुनेछ ।  ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ ।

आज धनगढीलाई हराउन सके पोखराको प्ले अफ सम्भावना बलियो हुनेछ । पराजित भएमा अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।