१० मंसिर २०८१, सोमबार
स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सेयर बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरेको छ ।
दोलखालीका साथै बीमा संस्थानका कर्मचारी, विद्युत् प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गरिसकेको तामाकोसीले चार दिनका लागि सेयर जारी गरेको हो । १९ कात्तिकसम्म अर्थात् ४ दिनसम्म आवेदन पाइने गरी जारी गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार एक करोड ५८ लाख ८५ हजार कित्ता बराबरको एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्न लागिएको छ । आयोजनामा ५० कित्तादेखि बढीमा एक हजारसम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको छ । धितोपत्र बोर्डबाट सि आश्वाको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने आयोजनाले जनाएको छ ।
यसअघि आयोजनाले फागुन २०७४ मै तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत् प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर वितरण गरिसकेको छ । २ लाख ८२ हजार दोलखालीमध्ये झण्डै ९८ प्रतिशतल १ करोड ५ लाख ९० हजार कित्ता सेयर पाएका छन् । २ लाख ७६ हजार १९४ आवेदकबाट ३ करोड ७७ लाख ७ हजार ९० कित्ता अर्थात् ३ अर्ब ७७ करोड बराबरको माग परेको थियो । सार्वजनिक सेयर बाँडफाँडअनुसार, एक जनाले ३० देखि १ सय ३ कित्तासम्म सेयर पाएका छन् ।
यसैगरी चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले पहिलो चरणमा कात्तिक २८ गतेदेखि साधारण सेयर निष्काशन गर्ने भएको छ । कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
नेपाल विद्युत् प्राधिकरणले बुधबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, कात्तिक २८ देखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताका लागि १ करोड १७ लाख कित्ता सेयर निष्काशन हुनेछ । कर्मचारी सञ्चय कोषका बचतकर्तालाई छुट्याइएको १ करोड १७ लाख कित्ता सेयर निष्काशन भएपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि सेयर निष्काशन गरिने बताइएको छ । संस्थापक संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात् २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसैगरी ऋणदाता कर्मचारी सञ्चय कोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि सेयर आवेदन गर्न सक्ने छन् । जलविद्युत् आयोजना र कर्मचारी सञ्चय कोषका बीचमा भएको सम्झौताअनुसार २०६८ मंसिर २२ मा बहाल रहेका र २०७५ असोज २९ गतेसम्म थपिएका सञ्चय कोषका बचतकर्ता, कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीले सेयरमा आवेदन गर्न सक्नेछन् ।