शान्ति प्रक्रिया टुंग्याउन सरकारले नै नचाहेको एमालेको आरोप

होमल्याण्ड खबर

२०८० कार्तिक १६ गते, बिहीबार १३:३५ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले नै शान्ति प्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले प्रतिपक्षलाई देखाएर सरकारले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको आरोप लगाएका हुन्।

‘शान्ति प्रक्रिया टुंग्याउन कसले रोकेको छ? अन्तर्राष्ट्रिय मापदण्ड,सर्वोच्चको आदेश र पीडितलाई प्राथमिकतामा राखेर शान्ति प्रक्रिया टुंग्याउन एमाले तयार छ। तर,सरकार प्रतिपक्षलाई देखाएर आफैँ शान्ति प्रक्रिया टुंग्याउन चाहँदैन’,उनले भने।

पौडेलले शान्ति प्रक्रिया टुंग्याउन चाहनेले फागुन १ गतेलाई दिवसको रूपमा नमनाउने समेत उल्लेख गरे। पौडेलले फागुन १ गते उत्सवको दिन हुनै नसक्ने टिप्पणी गरे। नेपालमा हिंसा आरम्भ भएको दिनलाई उत्सवको रूपमा मनाएर सरकारले शान्ति प्रक्रिया टुंग्याउन नसक्ने उनको भनाइ छ।

उनले नेपाल तस्करीको अन्तर्राष्ट्रिय केन्द्रको रूपमा बद्‍नाम भएको बताए। पौडेलले नेपालमा दिनहुँ सुन तस्करी प्रकरण हुँदा सरकार त्यसलाई नियन्त्रण गर्न नभई संलग्नलाई जोगाउन लागिपरेको आरोप  लगाए।

साथै, पौडेलले सरकारको कारणले सदनको काम कारबाही प्रभावकारी हुन नसकेको आरोप समेत लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सदनको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गरे।