भारतले दियाे २५ हजार मेट्रिक टन चिनी आयात गर्न नेपाललाई अनुमति

होमल्याण्ड खबर

२०८० कार्तिक १७ गते, शुक्रबार ११:१६ मा प्रकाशित

चिनी निर्यातमा प्रतिबन्ध गरेको भारत सरकारले हाल नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ। भारतको कृषि मन्त्रालयले हालै गरेको निर्णय अनुसार नेपाललाई उक्त परिमाण बराबरको चिनी निर्यात गर्ने अनुमति दिएको हो।

यसअघि भारतले चिनी निर्यातमा प्रतिबन्ध लगायकाले बजारमा चिनी अभाव भएको थियो। विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक मुलुक भारतले नै उत्पादनमा कमी आएको भन्दै अन्य मुलुकमा निर्यात गर्न रोकेको थियो।

भारतले ३–४ महिनाअघिदेखि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो। यहाँ भएको चिनी उपभोगका लागि पर्याप्त नहुँदा बजारमा अभाव भएको थियो। तर अब यो आयातको कोटामा खुलाएको २५ हजार मेट्रिक टनले बजारमा अहिलेलाई गर्जो टर्ने वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउँछन्।

नेपालमा वार्षिक करिब ३ लाख मेट्रिक टन चिनी आवश्यक पर्छ। नेपाल भित्रै १ लाख ५० हजार मेट्रिक टन चिनी उत्पादन हुन्छ। ५० प्रतिशत जतिमात्रै आन्तरिक उत्पादनले धान्छ।  यसपछि बाँकी ५० प्रतिशत आयात नै गर्नुपर्छ। तर पछिल्लो समय भारतबाट आयात नहुँदा आपुर्ती श्रृङ्खला बिग्रिएकोले असहज स्थिति आएको थियो। भारतले आयात अनुमति दिएसँगै तिहारकाे समयमा चिनीकाे अभाव हट्ने देखिएकाे छ।