म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ’ : भारती

होमल्याण्ड खबर

२०८० कार्तिक १७ गते, शुक्रबार १६:३० मा प्रकाशित

नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ को आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताइन् । उनले आफ्नो टीमले कुनैपनि लोभ लालचमा नलागीकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा जनाएकी छन् ।

भारतीले भनिन्, ‘बीचमा धेरै बाधा आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर, मेरो टीमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडिओ बनाएर दिए पैसाको बिटो दिन्छौं भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । मिनाहा गरिएको कैद सजाय पुन: भुक्तान गराउनू भनी सर्वोच्चले परमादेशसमेत दिएलगत्तै रिगल नेपालगञ्जबाट पक्राउ परिसकेका छन् ।