काठमाडौंद्वारा बुटवललाई १७३ रनको लक्ष्य

होमल्याण्ड खबर

२०७५ कार्तिक १६ गते, शुक्रबार १५:५५ मा प्रकाशित

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा हुलास काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानेन्द्र मल्लको काठमाडौंले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १७२ रन बनाएको थियो ।  काठमाडौंले दिएको १७३ रनको लक्ष्यसहित सोमपाल कामीको बुटवलले केहि बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

काठमाडौंका लागि नरेश बुढाएरले ५८ अर्धशतकीय इनिङस खेले । उनले २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान ज्ञानेन्द्र २५ रनमा अविजित रहे । नरेश र ज्ञानेन्द्रले पाँचौ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

त्यस्तै जयकिशन कोल्शावालाले ४५, पवन सर्राफले २२ तथा गौरव तोमारले ११ रन जोडे । बुटवलका लागि विपिन खत्रीले २ विकेट लिए । सांसद शेख र रोहन मुस्तफाले १/१ विकेट झारे ।

यस खेल दुवैको टोलीका लागि महत्वपूर्ण रहेको छ । प्रतियोगितामा यस खेल बुटवलको अन्तिम खेल हो भने काठमाडौंको चौथो खेल हो ।

बुटवल ४ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । तर, बुटवललाई प्ले अफमा पुग्न काठमाडौंविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

काठमाडौंसंग पराजित भए बुटवलको प्ले अफ यात्रा अन्य टोलीको खेलमा निर्भर हुनेछ ।

यता, काठमाडौं बुटवललाई हराएर प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ । ३ खेलबाट ४ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ ।

बुटवललाई हराउन सके काठमाडौंको प्ले अफ यात्रा निकै सहज हुनेछ ।