भूकम्प पीडितका लागि पोखरा महानगरले ५० लाख दिने

होमल्याण्ड खबर

२०८० कार्तिक २० गते, सोमबार १५:५० मा प्रकाशित

कास्कीको पोखरा महानगरपालिकाले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गरेको छ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि यस्तो घोषणा गरेका हुन्। ‘जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा भूकम्पका कारण ठूलो जनधनको क्षति पुगेको छ’, नगर  प्रमुख आचार्यले भने, ‘यो दुःख केवल पीडित र प्रभावित क्षेत्रको मात्र रहेन। यो विपद्ले हामीलाई पनि मर्माहत बनाएको छ। यस घडीमा पोखरा महानगरपालिकाको तर्फबाट राहत, उद्धार र प्रभावितहरूको पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ बराबरको सहायता घोषणा गर्दछु।”

प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि सहयोग गर्न प्रमुख आचार्यले आह्वान समेत गरेका छन्।

उनका अनुसार सहायता रकम महानगरका नगरप्रमुख, उपप्रमुखलगायत वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट शोधभर्ना हुने गरी व्यवस्थापन गरिने छ। साथै महानगरका नगर सभा सदस्य तथा कर्मचारीहरूले स्वैच्छिक सहयोग उपलब्ध गराउन सक्नेछन् भने, अपुग रकम महानगरपालिकाको विपद् कोषबाट व्यवस्थापन गरिनेछ।

उनका अनुसार पहिलो चरणको सहायता सामाग्री बोकेको ट्रकसहित जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नगर प्रहरीको उद्धार टोली गत शनिवार साँझ नै त्यसतर्फ प्रस्थान गरेको छ। पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधान र वडा नं।७ का वडा अध्यक्ष राम मोहन आचार्य नेतृत्वको टोलीमा महानगरको जनस्वास्थ्य अधिकृत फूलदेव तिमिल्सीना, मेडिकल अधिकृत डा तिलकमान सिंह भण्डारी, जनस्वास्थ्य निरीक्षकहरू लोकराज आचार्य र धर्मराज चौलागाई र सिनियर अहेव कुश्मराज सुवेदी रहेका छन्।

यस्तै नगर प्रहरीका तर्फबाट प्रहरी नायव निरीक्षक सन्त बहादुर केसीको नेतृत्वमा नगर प्रहरी जवानहरू रामचन्द्र विक, भुवन थापा, कमल परियार, गणेश पौडेल, टिका प्रसाद रिमाल, गङ्गाप्रसाद आचार्य र नर बहादुर गायक उद्धारका कार्यका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। टोलीमा सञ्चारकर्मी विश्व सुवेदी र सरोज अधिकारी पनि सहभागी छन्।

टोलीलाई महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रवक्ता मोतीराज तिम्सिना, र निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्य लगायतले बिदाइ गरेका छन्। उपप्रमुख गुरुङले टोलीलाई जिम्मेवार पूर्वक प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा खट्न निर्देशन दिएका छन्।

उद्धारका लागि आवश्यक सामाग्रीहरू लिएर गएको टोलीले स्थानीय अधिकारीहरूको समन्वयमा प्राथमिक उपचारसहित उद्धार र राहत व्यवस्थापनका कार्यहरू गर्नेछ। पहिलो चरणको राहत सामाग्रीमा लत्ताकपडा, ब्ल्याङ्केट, त्रिपाल र खाद्य सामाग्रीहरू लगायत पठाइएको महानगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिए।

गत शुक्रबार राति करिब १२ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भई छ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।