जाजरकोट पुगेर राष्ट्रपति पौडेलले भेटे भूकम्पका घाइते

होमल्याण्ड खबर

२०८० कार्तिक २१ गते, मंगलवार १३:४७ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन्।

घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए। जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका छन्।

‘तपाईंहरूका लागि अल्पकालिन र दीर्घकालिन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्न पर्दैन। म सरकारसँग कुरा गर्छु,’ राष्ट्रपति पौडेलका भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने।

साथै जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका छन्। त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकले जानकारी गराएका थिए।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेत हुँदै जाजरकोट पुगेका हुन्। भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए। राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्।