होमल्याण्ड खबर
२०८० कार्तिक २२ गते, बुधबार १६:४० मा प्रकाशित
नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-शिवा भन्ज्याङ: समृद्धिका लागि संकल्प यात्रा अभियान थाल्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा बुधबार भएको सचिवालय बैठकले मंसिर १४ गतेदेखि उक्त अभियान सञ्चालन गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा अवस्थित झुलाघाटमा सो अभियानको थालनी गर्नेछन्। उपमहासचिव ज्ञवालीका अनुसार अध्यक्ष ओलीले मंसिर १४ गते राष्ट्रिय झण्डा फहराएर उक्त अभियानको शुभारम्भ गर्नेछन्। अभियान सुरूवात भएपछि मध्यपहाडी लोकमार्गका विभिन्न १२-१३ स्थानमा विशेष कार्यक्रम आयोजना गरिने उनको भनाइ छ। त्यसक्रममा उनले केही स्थानमा हिमाल र तराईका क्षेत्रलाई पनि जोडेर लैजाने बताए।
पछिल्लो समय पहाडमा पूर्वाधारको विकास भए पनि त्यहाँका जनताहरू क्रमशः तराई वा सहरी क्षेत्रमा बसाई सराई गर्ने प्रचलन बढेको भन्दै एमालेले उक्त अभियान सञ्चालन गर्न लागेको उपमहासचिव ज्ञवालीले बताए।
‘नेपालमा हिमाल, पहाड र तराई गरी भौगोलिक बनावट भए पनि पहाडी क्षेत्र असाध्यै महत्वपूर्ण छ। पहाडी क्षेत्रमा पूर्वाधार पुगे पनि त्यहाँका नागरिकहरू तराई र सहर छिर्ने प्रचलन बढ्दो छ। त्यहाँको चुनौती के छन्। पहाडलाई कसरी समृद्धि बनाउन सकिन्छ भनेरै यो अभियान गर्ने निर्णय गरिएको हो,’ उनले भने।
उनले पहाड समृद्धि नभएसम्म देश समृद्धि बन्न नसक्ने भन्दै पार्टीका केन्द्रीय, प्रदेश र जिल्लाको टोलीसमेत परिचालन हुने बताए। उक्त अभियान पाँचथरको चिवा भन्ज्याङमा पुगेर टुंगिने एमालेले जानकारी दिएको छ।