मेलम्ची आउन अझै दुई महिना

होमल्याण्ड खबर

२०७५ कार्तिक १८ गते, आईतवार ११:४१ मा प्रकाशित

मेलम्चीको पानी काठमाडौँ ल्याउन अझै दुई महिना लाग्न सक्ने अनुमान गरिएको छ । सुरुङको ब्रेकथ्रुपछि सुरुङ ढलान र प्लास्टरको काम (फिनिसिङ) अन्तिम हुन लागेकाले अझै दुई महिना लाग्ने अनुमान गरिएको हो । ढलान र प्लास्टर सकिएपछि मेलम्चीको पानी सुन्दरीजलसम्म आउने बाटो खुला हुनेछ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार ढलान र प्लास्टर सम्पन्न गर्न अब ६.९ किलोमिटर बाँकी छ । दशैँपछि निर्माण कम्पनीले गति बढाएर हाल दैनिक दुई सय मिटरका दरले अन्तिम चरणको काम गरिरहेको छ । सोही गतिमा काम भए डेढ महिनाभित्र काम पूरा हुनसक्ने अनुमान गरिएको छ । ढलान र प्लास्टर सकिना साथ मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ ।

निर्माण कम्पनीले भेन्टिलेसनको कामको पनि तयारी गरेको छ । समितिका वरिष्ठ डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार मेसिन लिएर ड्रिलका लागि मेसिन फिट गर्ने काम भएको छ । मेलम्चीदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमा सुन्दरीजल, थकनी र इचोकमा भेन्टिलेसन राखिने छ । सहज पानी बग्नका लागि सुरुङभित्रैबाट ड्रिल गरी माथि पहाडमा प्वाल पारिनेछ ।

समितिका अनुसार मेलम्ची खोलामा बाँध बनाउने काम भने पछि गरिने भएको छ । हालका लागि पाइपबाट सुरुङमा पानी लगिने भएको छ । पानीको बहाव कम भएको बेला स्थायी डाइभर्सन निर्माण गरिनेछ । सुन्दरीजलमा आएको पानी प्रशोधन गरी वितरणका लागि संरचनाहरू तयारी भइसकेको मेलम्ची उपआयोजाना–२ ले जनाएको छ । दशैँ अगावै मेलम्चीको पानी आउने भनिए पनि फिनिसिङ नसकिँदा ढिलाइ भएको समितिको भनाइ छ । निर्माण कम्पनीले अक्टोबर १५ (असोज २९) गते काम सक्ने भने पनि अहिलेसम्म सकिएको छैन ।