२३ बैशाख २०८३, बुधबार
तिहारको मुख्य दिन, आज (बुधबार) भाइटीका मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन, भाइटीकामा दिदी–बहिनीले आफ्ना दाजु–भाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ।


भाइटीकाको दिन दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाका लागि आज (बुधबार) बिहान १०:५१ बजे अभिजित् मुहूर्तको समय उत्तम रहेको जनाएको छ। यद्यपि आज दिनभरी टीका लगाउन कुनै बाधा नभएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताए। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।