अस्ट्रेलियाले जित्याे छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि

होमल्याण्ड खबर

२०८० मंसिर ३ गते, आईतवार २१:५८ मा प्रकाशित

अस्ट्रेलियाले छैटौँपटक विश्वकप क्रिकेटको उपाधि उचालेको छ। गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले सजिलै चेज गरेको हो।

अस्ट्रेलियाले ४ विकेटको क्षतिमा ४३ ओभरमा नै भारतले दिएको लक्ष्य भेट्टाएको हो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले शतकको योगदान गरे भने मार्नस लाबुसचाग्नेले अर्धशतकको योगदान गरे।

ट्राभिसले १२० बलमा १३७ रनको योगदान गरेका थिए। ट्राभिसले १५ चौका र ४ छक्का हानेका थिए। ट्राभिसलाई ४२.५ ओभरमा भारतका मोहम्मद सिराजले आउट गराएका थिए। मार्नसले ११० बलमा ५८ रन जोडे। मार्नस नटआउट रहे।

यसअघि छैटौँ ओभरको अन्तिम बलमा अस्ट्रेलियाका स्टेभ स्मिथलाई जसप्रित बुमराहले आउट गराएका थिए। स्थिथले ९ बल खेलेर ४ रन बनाए। त्यस्तै ४.३ ओभरमा बुमराहले मिसेल मार्सलाई आउट गराएका थिए। मार्सले १५ बल खेलेर १५ रन बनाएर आउट भए।

अस्ट्रेलियाले यसअघि पनि ५ पटक विश्वकपको उपाधि उचालेको छ। सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको हो।

सन् १९८७ मा भारत र पाकिस्तानमा भएको विश्वकपमा इंगल्यान्डलाई हराएको थियो। सन् १९९९ मा इंगल्यान्डमा भएको विश्वकपमा पाकिस्तानलाई र सन् २००३ मा साउथ अफ्रिकामा भएको विश्वकपमा भारतलाई हराएर उपाधि उचालेको थियो।

यस्तै २००७ मा वेस्ट इन्डिजमा भएको विश्वकपमा श्रीलंकालाई पराजित गर्दै विश्वकप विजेता बनेको अस्ट्रेलिया सन् २०१५ मा न्युजिल्यान्डलाई पराजित गरी उपाधि रक्षा गरेको थियो।