२३ बैशाख २०८३, बुधबार
सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमा आज सुनुवाइ नहुने भएकाे छ। टिकटकको प्रतिबन्धविरुद्ध १० वटा रिट परेका थिए।
रिटमाथि सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको इजलासमा पेशी तोकिएको थियो।


त्यस्तै, न्यायाधीशद्वय चुडाल र नहकुल सुवेदीको संयुक्त इजालसमा २० वटा मुद्दाको पेशी तोकिएको थियो। यी मुद्दामाथि संयुक्त इजलासमा सुनुवाइ चलेका कारण एकल इजलास बस्न सकेन।
न्यायाधीश चुडालको एकल इजलासमा पेशी तोकिएका कुनै पनि मुद्दाको सुनुवाइ आज हुन सकेन। सबै मुद्दालाई सर्वोच्च अदालत प्रशासनले ‘हेर्न नभ्याइने’मा राखेको छ।
सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएपछि फुकुवा गर्न माग गर्दै कानुन व्यवसायीले सर्वोच्चमा रिट दिएका हुन्।
सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै निवेदकहरूले सो निर्णय बदर गरी टिकटकमा लगाइएको प्रतिबन्ध तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन्।
सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।