भारतले दिएका १५ वटा मुर्रा राँगा आज नेपाल आइपुग्ने

होमल्याण्ड खबर

२०८० मंसिर ६ गते, बुधबार १२:५४ मा प्रकाशित

भारत सरकारले सहयोगस्वरुप नेपाललाई दिएका मुर्रा राँगा आज नेपाल आइपुग्ने भएका छन्। आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट १५ वटा मुर्रा राँगा भित्र्याउन लागिएकाे हाे।

नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले जानकारी दिए।

उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो।  उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएका राँगाको स्याहारका लागि एकजना भेटेरिनरी डाक्टर पनि सँगै रहेका छन्।

नेपालमा आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न  स्थानमा पठाइने उनले बताए । राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा राखिने छ ।

राँगाबाट पोखरा, नेपालगञ्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणको क्रममा भारत सरकारले  नेपाललाई १५ वटा मुर्रा जातका राँगा दिने प्रतिबद्धता जनाएको थियो।