४ मंसिर २०८१, मंगलवार
नेपाली काग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले नेपालमा समय अनुसार काम गर्न नसकिएको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको बन्द सत्र सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेता भण्डारीले हरेक नेतृत्वले देशको आवश्यकता के हो बुझ्न जरुरी रहेको बताए। देशमा रिफर्म, पफर्म र ट्रान्सफर्मको अत्यन्तै आवश्यक रहेको भन्दै वर्तमान हरेक नेतृत्व युवाहरूको भावना अनुसार चल्नुपर्ने उनले बताए।
‘देशको अर्थतन्त्रमा निकै समस्या आएको छ। नेतृत्वकर्ताले देशको आवश्यकता बुझ्न सकिरहेका छैनन्।’ उनले भने, ‘वर्तमान नेतृत्व आफन्तवादमा रमाएको छ। नेतृत्वलाई देशप्रति कुनै चिन्ता छैन ।’
बदलिएको समयमा सबै फरक ढङ्गबाट हिँड्नुपर्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए। प्रतिपक्षसँग नभएर युवासँग प्रतिस्पर्धा गर्नुपर्ने बेला आएको भन्दै उनले युवाहरूको भावनालाई सबैले बुझ्नुपर्ने बताए। समय अनुसार चल्न आवश्यक रहेको उनको भनाइ छ।
सबै एकताबद्ध भएर मुलुकको समस्या समाधान हुने भन्दै उहाँले देशलाई कसैले पनि बिगार्ने अधिकार नभएको बताए। देशको आवश्यकता के हो त्यसको बारेमा सोच्न जरुरी भएको उल्लेख गरे। देशको बारेमा सपना देख्ने नेतृत्व आवश्यक छ। उनले विकल्प धेरै भएको भन्दै सबैले मेहनत गर्न जरुरी रहेको बताए।