बबरमहलमा राखियाे ‘पोलिकन क्रसिङ लाइट’, पैदलयात्रुले नै बटम थिचेर सडक पार गर्न सक्ने

होमल्याण्ड खबर

२०८० मंसिर ११ गते, सोमबार ११:४७ मा प्रकाशित

काठमाडौं। काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ। सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि ‘पोलिकन क्रसिङ लाइट’ राखेको हो ।

‘पेलिकन क्रसिङ लाइट’ भनिने यस प्रकारको ट्राफिक लाइट सञ्चालनबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने जानकारी दिए ।

एकपटक थिचिसकेपछि २ मिनेट भने बत्ती बल्ने छैन। उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताए ।

‘काठमाडौं महानगरपालिकाद्वारा आम नागरिकका लागि राखिएको ट्राफिक लाइट हो। यसलाई थिचिसकेपछि यसले सहज रुपमा जुन तोकिएको समय छ, अहिले ३० सेकेण्ड राखिएको छ । त्यो थिचेपछि ५ सेकेण्ड कुर्नुपर्छ, त्यो कुरेपछि हरियो बत्ती बल्छ, पैदलयात्रुका लागि ।

३० देखि ३५ सेकेण्ड तोकिएको समयमा क्रस गरिसक्नुपर्छ । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ, प्रयोग गर्न जान्दा त्यसले सूचना देखाउँछ, त्यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ’ उनले भने ।

१० लाख रुपैयाँ लागतमा उक्त प्रविधि जडान गरिएकाे बताइएकाे छ।