९ मंसिर २०८१, आईतवार
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला,२०२३ आयोजना गर्ने भएको छ । मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९को कारण केही वर्ष रोकिएको मेला यो वर्षबाट निरन्तरता दिन लागेको बताए । उनले मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मदत पुग्ने तथा अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताहरुको एकै ठाउँमा भेट हुने माध्यम बन्ने बताए ।
उनले मेलाबाट नेपाली उत्पादन र विदेशी उत्पादनको सहज रुपमा अवलोकन गर्न सकिने दाबी गरे । उनले नेपाल अन्तराष्ट्रिय व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको बताए । उनले अन्तर्राष्ट्रिय व्यापार मेलाले जिल्ला तहमा वृद्धि हुँदै गएका व्यापार मेलाहरुलाई पनि मद्दत पुग्ने बताए । उनले मेलामा चीनबाट ५५,भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८÷८ वटा स्टलहरु रहने बताए । उनले मेलामा २१० वटा स्टलहरु मार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने बताए ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने एक माध्यम बन्दै आएको महासंघको भनाई छ । मेलामा नेपालको औद्योगिक व्यवसायीक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास महासंघले लिएको छ । मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारीक प्रतिनिधिमण्डल र नेपाली व्यापारीक प्रतिनिधिमण्डलबीच कृषि,जडिबुटी,औषधि,हस्तकलाका वस्तुहरुको विषयमा छलफल समेत हुनेछ ।