तुलाधारको राजकीय सम्मानसाथ अन्तेष्टि गरिँदै

होमल्याण्ड खबर

२०७५ कार्तिक १९ गते, सोमबार १२:०९ मा प्रकाशित

पूर्वमन्त्री, अधिकारकर्मी, पहिचानबादी एवं पूर्ववामपन्थी नेता पद्मरत्न तुलाधरको आज राजकीय सम्मानका साथ अन्त्यष्टि गरिदैछ। ७८ वर्षको उमेरमा मस्तिष्कघातबाट आइतबार दिउँसो नर्भिक अस्पतालमा  निधन भएका तुलाधरलाई आज राजकिय सम्मानका साथ अन्त्यष्टि गर्न लागिएको हो।

काठमाडौंको शोभाभगवतीमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानकासाथ तुलाधरको अन्त्यष्टि गरिन लागेको हो। तुलाधरको  पार्थिव शरीरलाई लाजिम्पाटस्थित निवासमा बिहान ८ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि लाजिम्पाटबाट शुरु हुने शवयात्रा रानिपोखरी, असन, उनको पुरानो घर न्हयाकतल्ला बांगेमुढा, क्षेत्रपाटी हुँदै शोभाभगवती पुगेर टुंगिनेछ।

मानव अधिकार आन्दोलनका अगुवा तुलाधरले आदिवासी जनजाति, दलित, महिला, उत्पिडित बर्गको आन्दोलनमा अग्रणि भुमिका निभएका थिए। नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन भूमिका खेलेका तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि योगदान गरे। तत्कालिन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन मध्यस्थकर्ताको भूमिका खेलेका तुलाधार पछिल्लो समय पहिचानको आन्दोलनमा जोडिएका थिए।

तीनपटक सूर्य चुनाब चिन्हबाट निर्वाचन जितेका तुलाधर स्वतन्त्र वामपन्थीकै हैसियतमा २०५२ सालमा स्वास्थ्य एवं श्रम मन्त्री बनेका थिए। तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन्।