निर्माण व्यवसायी परिषद्ले जाजरकोट भूकम्प प्रभावितलाई ३० लाख सहयोग गर्ने

होमल्याण्ड खबर

२०८० मंसिर १८ गते, सोमबार १६:०१ मा प्रकाशित

निर्माण व्यवसायी विकास परिषद्ले जाजरकोट भूकम्प प्रभावितलाई ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा सोमबार बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार राहत र पुनर्निर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय हो । निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुने उनले बताए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका थिए । मन्त्री ज्वालाले यसअघि डेढ महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब दिने निर्णय गरिएको छ ।