अदालतकाे पक्राउ पूर्जीविरुद्ध विप्लवले घोषणा गरे आन्दोलन

होमल्याण्ड खबर

२०८० मंसिर १९ गते, मंगलवार १३:०० मा प्रकाशित

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।

पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।

सोमबार काठमाडौँ जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्यूताएर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको विज्ञप्तिमा उल्लेख छ ।

‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ’विज्ञप्तिमा भनिएको छ ।