१० मंसिर २०८१, सोमबार
तिहार सुरु भएसँगै काठमाडौंको असन, इन्द्रचोक लगायतका ठाउँहरुमा अत्यधिक घुइँचो बढेको छ । तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय सामानको मूल्य दुई सय प्रतिशतसम्म बढेको छ । तर, बजारमा सरकारको कुनै अनुगमन नै छैन । व्यापारीको मूल्यमा तिर्नु पर्ने उपभोक्ताको बाध्यता रहेको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको तिहारमा धेरै भाइमसलाहरुको मूल्यवृद्धि भएको नेपाल खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठले बताउँछन् । संघका महासचिव श्रेष्ठले भने, ‘धेरै मसलाहरुको मूल्य बढेको छ । तर सबैको मूल्य बढेको चाहिँ छैन ।’
श्रेष्ठले सबै सामानको मूल्य नबढेको भने पनि होमल्याण्डको अनुगमनमा अधिकांश पसलेले सामान बढेको बताइरहेका थिए । असनमा भाइमसला किन्न पुगेकी र्कीितपुरकी विनुका अर्याल पसलेले सबै सामनाको मूल्य बढेको बताएकी थिइन् ।
यता संघका महासचिव श्रेष्ठले किसमिस ३ सय देखि ३ सय ५० रुपैयाँमा बेच्दै आएकोमा ६ सय रुपैयाँ पुगेको बताए । उनका अनुसार १ हजार २ सय रुपैयाँमा गत वर्ष बिक्री गरेको बदाम १ हजार ४ सय ५० रुपैयाँसम्म पुगेको छ भने गत वर्ष २ सय देखि १३ सय रुपैयाँसम्म रहेको पेस्ता अहिले १ हजार ७ सय ५० रुपैयाँसम्म पुगेको जानकारी दिए ।
तिहारको मौका छोपेर व्यापारीहरुले हरेक सामानको मूल्य बढाएका छन् । कतिपय सामानको मूल्य दुई सय प्रतिशतसम्म बढेको छ । तर, बजारमा सरकारको कुनै अनुगमन छैन । उपभोक्त महासंघका अध्यक्ष ज्योति बानियाँ सरकारी निकाय बजार माफिया सँग मिलेको हुन सक्ने आरोप लगाए ।
बजारमा अघिल्लो वर्ष ३ सय रुपैयाँमा बिक्री भएको मखना यस वर्ष मूल्य बढेर १ हजार रुपैयाँसम्म पुगेको उनले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा नरिवल र ओखरमा पनि मूल्यवृद्धि भएको छ । गत वर्ष ३ सय ७५ रुपैयाँमा बिक्री भएको नरिवल यसवर्ष ५ सय रुपैयाँ पुगेको छ भने ३ सय ८५ रुपैयाँमा बिक्री भएको ओखर यस वर्ष ७ सय रुपैयाँसम्म पुगेको छ ।
असन–इन्द्रचोकमा भिडभाड
सुपरमार्केटमा सुनसान
तिहारको किनमेल गर्ने भीडले असन, इन्द्रचोकमा बाटो पाइसाध्ये छैन् । किन्नेहरुका कारण खचाखच भरिएको छ । दुईपांग्रे सवारीलाई पनि असन बजार कट्न निकै सास्ती बेहोर्नु पर्ने अवस्था छ । भीडका कारण पैदल हिँड्नेलाई पनि कम सास्ती छैन । जमलबाट असन हुँदै नरदेवीसम्म पुग्नका लागि १० देखि १५ मिनेटको पैदल दुरी हो । तिहारको घुइँचोले गर्दा त यतिबेला १० मिनेटको दूरी काट्न पनि कम्तिमा आधाघण्टा लाग्ने गरेको छ । आइतबार करिब ३ बजेतिर असन बजारमा यस्तै भीड देखियो । सोमबार पनि बिहानैदेखि घुइँचो बढेको छ । साँझको समयमा हिँड्नै मुस्किल पर्ने बटुवा बताउँछन् ।
तर शहरमा खुलेका आधुनिक मल तथा सुपरमार्केटहरुमा भने मानिसहरुको भीड प्रायः देखिएको छैन् । कलंकी स्थित भाटभटेनी सुपरमार्केटमा पुगेका होमल्याण्ड सहकर्मीले तिहारका सजावट भए पनि ग्राहकको उपस्थिति भने नगन्य रहेको जनाएका छन् । भाटभटेनी सुपरमार्केटलगायत अन्य सुपरमार्केटहरुले उपाहार तथा छुटको व्यवस्थाको गरे पनि ग्राहकहरुको आकर्षण भने देखिएको छैन् । असनमा भेटिएकी विनुका भन्छिन् विश्वसनियताका लागि यहाँ आएकी हुँ । सुपरमार्केटमा सामानको मूल्य बढी हुने मनोविज्ञानका कारण पनि असनमा भिड बढेको अनुमान गरिएको छ । भाटभटेनी सुपरमार्केटका बिक्री प्रबन्धक रोहन गुरुङ आफुहरुले पनि असनबाटै खरिद गर्ने भएको कारण महंगो पर्ने बताए ।
भाइमसला, झिलिमिली बत्ती बढ्दो कारोवार बढेको छ । नरिवल, सुपाडी, किसमिस, काजु, बदाम, ओखर, खजुर, पास्ता लगायतको समिश्रण गरेको प्याकेट पनि बिकेका छन् । ५० रुपैयाँदेखिको प्याकेटहरु पसलमा देखिन्छन् ।
यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल बताउँछन् । मौसमी ब्यापारका रुपमा बत्ती बेच्ने क्रम सुरु भएको छ । असन बजारमा मात्रै होइन, सडकपेटीमै पनि यस्ता बत्ती बेच्नेहरु भेटिन्छन् ।