अहिलेको सरकार चरम असफल भयो : ओली

होमल्याण्ड खबर

२०८० मंसिर २१ गते, बिहीबार १४:११ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले अहिलेको सरकार चरम असफल सरकार भएको टिप्पणी गरेका छन्। मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको आठौँ दिन आज बिहीबार बागलुङकाे सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै वर्तमान सरकार असफल मात्र नभइ चरम असफल सरकार भएको बताए।

उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने समेत बताएका छन्।

‘गैरजिम्मेवार र इमान नभएर सरकारमा बसेको छ।’ ओलीले भने,‘नत्र राजीनामा गरेर घर जानुपर्ने हो। लाज नमानेर र लाज नभएर कसरी बसिराखेको छ सरकारमा अच्चम लाग्दो छ।’

अध्यक्ष ओलीले देशमा अस्थिरता, अराजकता, जनताहरुमा निराशा बढ्दो रहेको र युवाहरु पलायन भइरहेको बताए। उनले देशको अर्थतन्त्र धोस्त हुँदै गएको दाबी गरे। कर्मचारीहरुलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाएको बताउँदै अध्यक्ष ओलीले सरकारले कुन मुखले सरकार हुँ भनेर कुर्चिमा बसेको छ भन्दै प्रश्न समेत गरे।

उनले वर्तमान सरकारले राष्ट्रघाति काम गर्ने, देशको इज्जत समाप्त पार्ने, स्वाधीनता कमजोर पार्ने, राष्ट्रिय हितको रक्षा गर्न नसक्ने र भूमिको रक्षा गर्न नसक्ने दाबी गरे। ‘एमालेको सरकारको बेलामा सुरु भएका विकास निर्माणका कामहरु समेत अहिलेको सरकारले रोकेको छ,’अध्यक्ष ओलीले भने।

वर्तमान सरकारसँग कता जाने भन्ने गन्तव्य नै नभएकोले जनतामा निराशा पैदा भएको अध्यक्ष ओलीको भनाई छ। उनले सरकारले समृद्ध नेपाल भन्न नसकेको र जनता खुसी हुनुपर्छ भन्ने धारणा नै नभएको बताए।

पूर्वप्रधानमन्त्री ओलीले एमालेले देशको नेतृत्व गरेको बेला राष्ट्रियताको रक्षा र विकास निर्माणको काम गरेको बताए। उनले एमालेको नेतृत्व र अगुवाईमा मात्रै देशको विकास हुने, राष्ट्रियताको रक्षा हुन सक्ने बताए।